क्यानेडेली प्रधानमन्त्रीले मन पराए नेपाली रेस्टुरेन्टको परिकार

काठमाडौं । क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले मोमो खाएर नेपाली परिकारको प्रशंसा गरेपछि क्यानाडामा सञ्चालित नेपाली रेस्टुरेन्टले चर्चा पाएको छ ।

अन्टारियोको विन्डसरस्थित ‘हाक्का खजाना विण्डसर’ रेस्टुरेन्टमा ट्रुडोसहितको टोली पुगेर ‘डिनर’ खाएको थियो । गत बिहीबार मोमोलगायत खानेकुरा प्रधानमन्त्रीले खाएका थिए ।

रेस्टुरेन्टका म्यानेजर भरत केसीका अनुसार दिउँसो केही मानिसले करिब ३५ जनाका लागि अर्डर गरेर भीआइपी आउने भनेका थिए ।

त्यसैअनुसारको तयारी गरियो । साँझ टोली आइपुग्यो । टोलीका मुख्य आकर्षण थिए, क्यानेडेली प्रधानमन्त्री ट्रुडो ।

केसीका अनुसारउनीसहित पुगेको टोलीले करिब डेढ घन्टा रेस्टुरेन्टमा बिताएको थियो ।

त्यस क्रममा ट्रुडोले मोमो, किचेन चिल्ली जस्ता परिकार स्वाद मानेर खाएका थिए ।

प्रधानमन्त्रीले रेस्टुरेन्टका सबैजनासँग खुलेर कुराकानी गरेका थिए । नेपाली परिकारहरुबारे चासो राखेका थिए । उनले तस्बिरहरु पनि खिचेका थिए ।

नेपाली खानाको उनले प्रशंसा गरेका थिए । खानामा करिब ७० डलर प्रधानमन्त्री ट्रुडोले खर्च गरेका थिए । १२ डलर टिप्स पनि दिएको केसीले बताए ।

उनीसँग आएका सुरक्षाकर्मी र अरु मानिसहरुले आफूले खाएको पैसा आफैं तिरेका थिए ।

अटावा क्षेत्रमा अर्को पनि रेस्टुरेन्ट खोल्न उनले सुझाव पनि दिएका छन् ।

हाक्का खजाना नेपाली व्यवसायीले क्यानाडाका विभिन्न सहरमा सञ्चालन र विस्तार गरिरहेको रेस्टुरेन्ट चेन हो ।

उक्त रेस्टुरेन्टमा नेपाली परिकारका साथै भारतीय र चिनियाँ परिकारहरु पनि पाइन्छ ।

उच्च पदमा आसिन व्यक्ति आएर आफ्नो रेस्टुरेन्टमा ‘डिनर’ गरेपछि आफूहरु उत्साहित भएको केसीको भनाइ छ ।

यसले क्यानाडामा सञ्चालित अरु रेस्टुरेन्ट व्यवसायीलाई उत्साहित बनाएको क्यानाडाबाट सञ्चालित ‘नेपालटच’ ले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

फोटोः भरत केसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *