दुई नेपाली युवकको भारतमा हत्या, गाडिएको अवस्थामा भेटियो शव

काठमाडौं । जनकपुरका दुईजना युवकको भारतमा हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा ८ का २२ वर्षीय रोहित साह र वडा १३ का २३ वर्षीय विष्णु साहको हत्या भएको हो ।

उनीहरुको भारतको सीतामढी जिल्ला, थानाअन्तर्गतको पर्सा गाउँमा हत्या गरिएको प्रहरीले जनाएको छ ।

दुवै युवकको शव खाल्डामा गाडिएको अवस्थामा आइतबार बिहान फेला परेको थियो । उनीहरु १२ दिन अघिदेखि सम्पर्कविहीन थिए ।

प्रहरीले सूचना दिएपछि घटनास्थल पुगेका मृतकका परिवारका सदस्यले उनीहरुको पहिचान गरेका थिए ।

धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पोष्टमार्टमपछि परिवारलाई शव दिइने छ ।

प्रहरीका अनुसार दुवैको हत्या केही दिनअघि नै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डोरीले घाँटीमा बाँधेर उनीहरुको हत्या गरेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

दुवै युवक पुस २७ गते सीतामढी जिल्लाको परिहारस्थित रोहितको मामाघर जाने भनेर हिँडेका थिए ।

त्यसपछि उनीहरु सम्पर्कमा थिएनन् । मामाघर पुग्नु अगावै अज्ञात समूहले उनीहरुलाई अपहरण गरेको र अपहरणकारीहरुले विष्णुका बुबा रामबाबु साहलाई फोन गरेर ५० लाख फिरौतीसमेत मागेको पाइएको प्रहरीले जनाएको छ ।

त्यस क्रममा २० लाख फिरौती लिएर मुक्त गर्ने सहमति भएको थियो । अपहरणकारीले विष्णुका बुबालाई कहिले कहाँ, कहिले कहाँ बोलाउने गरे पनि फिरौती रकम भने लिएका थिएनन् ।

यसैबीच, प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

भारतका तीनजना र नेपालका दुईजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

-सीतामढी । गुगल नक्सा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *