‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो गल्तीे’

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन् ।

काठमाडौंको बत्तीसपुतलीमा आइतबार आयोजित कांग्रेस संस्थापनइतर समूहको बैठकमा नेता कोइरालाले यस्तो बताएका हुन् ।

पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको पनि उनले उल्लेख गरे ।

विश्वासको मत विभाजनमा आफूले नेतृत्वलाई तटस्थ बस्नुपर्ने सुझाव दिएको आफ्नो पक्षको भेलामा सहभागी नेताहरुलाई बताए ।

तटस्थ बस्ने प्रस्ताव कार्यसम्पादन समितिमा आफूले राखेको जानकारी दिँदै उनले भने ‘हामीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं ।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसको भूमिकालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहको अवस्थामा कोइराला समूहले भेला बोलाएको हो ।

भेलामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि कांग्रेसमा अनेक टिका टिप्पणी भइरहेको छ ।

खासगरी नेतृत्वको गल्तीप्रति नेताहरु असन्तुष्ट देखिएका छन् । यसै सन्दर्भमा कोइराला समूहले पार्टीको भूमिकालाई लिएर समीक्षा गरेको हो । भेलामा संस्थापनइतर समूहको नेता कोइराला कि महामन्त्री गगन थापा भन्ने पनि प्रश्न उठेको नेताहरुले बताएका छन् । आफ्नो पक्षको नेताबारे स्पष्ट पार्न उनीहरुले माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *