आऊ रहरहरू विनिमय गरौँ

प्रतीक्षा
प्रतीक्षा छ त्यो दिनको
जब खस्नेछ प्रेमको पहिरो,
थाम्ने प्रयासमा तल्लिन हुनेछु म
र तयार हुनेछु सँगसँगै बग्न !

तिम्रा औडाहाका बिस्कुन
केलाइ केलाइ मिहिन रुपमा
तिम्रो मायाको प्रतिशतमा
थप्नेछु केही मौलिक अंक !

मायाको सागरमा डुबेपछि
बौद्धिकताको के अर्थ हुन्छ र !

रहर झाँगिएर तिम्रो सामु
नतमस्तक म बनेको बेला
हुने छैन उन्माद
सायद,
होस् हराउँदै जानेछ मेरो
र, यस्तो बेला
हुने छैन विजयको एकोहोरो गौरव
हुने छैन कोही पराजित
मात्र हुनेछ दुबैको जितको उल्लास !

झरीजस्तै बर्षने अमृतरुपी रस पिएर
नयाँ उमंग अंकुरित हुनेछ,
विस्थापित हुनेछन् पीडा र कुरुपता
खुसीका स्वप्नील रंगहरुले
हो, त्यही दिनको प्रतीक्षामा छु !

जब हुनेछ तिम्रो र मेरो भेट
प्रेम, श्रद्धा र मादक रहरहरुको
पवित्र साटासाट हुनेछ
अनि यो समर्पणमा !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *