जापानको मुद्रास्फीति दर ४१ वर्षकै उच्च

टोकियो । जापानको मुद्रास्फीति दर ४१ वर्षपछि उच्च बिन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय ब्याङ्कले जनाएको छ ।

जीवनयापनको बढ्दो लागत कम गर्न ब्याजदर बढाउन केन्द्रीय ब्याङ्कलाई दबाब परेको छ । खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य वस्तुको बढ्दो लागतको बाबजुद ब्याजदर नबढाउने घोषणा गरेर ब्याङ्क अफ जापानले लगानीकर्तालाई चकित पारेको छ ।

केही समयदेखि उपभोक्ता मूल्य भन्दा उत्पादन मूल्य तीव्र गतिमा बढ्दै गएको छ । शुक्रबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार मुद्रास्फीति सन् १९८१ यताकै उच्च बिन्दुमा पुगेको छ ।

बजार मूल्य लगातार नवौं महिनामा बढेको छ  जुन केन्द्रीय ब्याङ्कको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ । मूल्यवृद्धिपछि पनि विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान संसारको सबैभन्दा कम मुद्रास्फीति दर भएका देशका सूचीबाट बाहिरिएको छैन । (रासस)

तस्बिरः पिक्स्वे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *