चलचित्रकर्मी कल्याण कोषमा उदितनारायण र दीपाको सहयोग

काठमाडौं । नेपाली चलचित्रकर्मीका हितका लागि भनेर स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’ मा गायिका दीपानारायण झाले सहयोग गरेकी छन् ।
आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा उनले पाँच लाख एक सय ११ सहयोग गरेकी हुन् ।
आफूहरुले स्रोतबाट धेरै माया र साथ पाएको उल्लेख गर्दै उनले नेपाली चलचित्रकर्मीको हितमा स्थापना गरिएको कोषमा केही सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।
नेपाली गीतमार्फत् आफूले गायन जीवनमा पाएको उपलब्धि कहिले भुल्न नसक्ने पनि उनले बताइन् ।
कोषमा अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही एक लाख एक सय ११, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार एक सय ११ र चलचित्रकर्मी महिला सशक्तीकरण समितिका संयोजक गीता नेपालले ११ हजार एक सय ११ कोषमा सहयोग गरेका छन् ।
कोषकी संयोजक बसुन्धरा भुसालले सहयोगीलाई धन्यवाद दिइन् । कोषमा पाँच करोड रुपैयाँ जम्मा भइसकेको उनले बताइन् ।
नेपाली चलचित्र क्षेत्रमा निरन्तररूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिकरूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना गरिएको हो ।