‘राष्ट्रपति बन्न कुनै कुलमा जन्मिनु आवश्यक छैन’

काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु नहुने बताएका छन् । त्यसो गर्नु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको उनको टिप्पणी छ ।
बिहिवार भएको प्रतिनिधि सभाको बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए ।
राष्ट्रपति बन्ने सम्भावित व्यक्तिका रुपमा चर्चामा रहेका नेम्वाङले अब राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताए ।
संविधानले कल्पना गरेअनुसार सक्षम व्यक्तिले मात्र संविधानको मर्मअनुरुप काम गर्न सक्ने उनको भनाइ छ ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना रहेको बताएका छन् ।
राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने उल्लेख गर्दै उनले् त्यसमा राष्ट्रिय सहमति हुन सक्ने बताए ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्ने बताउँदै आएका छन् ।
समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोसिस जारी राख्ने उनको भनाइ छ ।
सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको दाहालले बताएका छन् ।