जीवित शिशुलाई मृत घोषणा : चिकित्सक निलम्बित

काठमाडौं । जीवित शिशुलाई मृत्यु भइसकेको घोषणा गर्ने विराटनगरस्थित कोसी अस्पतालका चिकित्सकलाई निलम्बन गरिएको छ ।
१८ दिनको शिशुलाई मृत घोषणा गर्ने अस्पतालका चिकित्सक डा. आकाश यादव र अन्य दुईजना चिकित्सक निलम्बनमा परेका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूलाई ७ दिनका लागि निलम्बन गरिएको छ । घटनाबारे छानबिनको काम सुरु हुने भएपछि डा. यादव र अन्य दुई चिकित्सकलाई निलम्बन गरिएको हो ।
जीवित शिशुलाई मृत घोषणा गरेको विषयमा छानबिन गर्न अस्पतालले बिहीबार समिति गठन गरेको छ ।
अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झा नेतृत्वमा तीन सदस्य समिति गठन भएको हो । समितिमा बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल सदस्य छन् ।
समितिले सात दिनभित्र घटनाबारे बुझेर प्रतिवेदन बुझाउने अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले बताए ।
अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका १८ दिने शिशुको धड्कन बन्द भएको भन्दै डा. यादवले मृत घोषणा गरेका थिए ।
मोरङको जहदा गाउँपालिका ३ का श्वाप्रश्वासमा समस्या भएपछि बुधवार बिहान नवजात शिशुलाई अस्पताल पुर्याएका थिए ।
डा. यादवले शिशुलाई मृत घोषणा गरेपछि बुधवार अस्पताल तनावग्रस्त बनेको थियो । ती शिशुको विराटनगरकै गोल्डेन अस्पतालको एनआइसियुमा राखेर उपचार भइरहेको छ ।