अष्ट्रेलियाका आठ सहरमा गुञ्जँदै नेपथ्य

काठमाडौं । लोक-रक ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने भएको छ । त्यहाँका विभिन्न आठवटा सहरमा कार्यक्रम प्रस्तुत गर्ने तयारी नेपथ्यको छ ।

यसअघि सन् २०१९ डिसेम्बरमा नेपथ्यले आफ्नो अष्ट्रेलियाका ६ सहरमा प्रस्तुति दिएको थियो ।

‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै एक महिना लामो देशब्यापी यात्रा सम्पन्न गरेको थियो । त्यतिबेला मुलुकभर सडक आश्रितहरुको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’ सँगको सहकार्यसहित सातै प्रदेशका १० सहरमा कार्यक्रम प्रस्तुत गरिएको थिगयो ।

त्यही यात्राको प्रतिक्रियाबाट प्रेरित भएर सन् २०२३ भरि आफ्ना सबै प्रस्तुति ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रबर्द्धन अभियानको शृङ्ंखलाका रुपमा प्रस्तुत गर्ने योजना बनाएको नेपथ्यका अगुवा अमृत गुरुङले बताए ।

‘नेपथ्य म्युजिक फर ह्युम्यानिटी अस्ट्रेलिया टुर २०२३’ नाम दिइएको यो सांगीतिक यात्रा जनवरी २५ मा डार्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ बाट सुरु हुनेछ ।

जनवरी २८ मा एडिलेडस्थित ‘हिण्डले म्यूजिक हल’ मा र जनवरी ३१ मा ब्रिसबेनको ‘फोर्टिच्यूड म्यूजिक हल’ मा कार्यक्रम हुनेछ ।

चौथो प्रस्तुति अष्ट्रेलियाको केन्द्रिय राजधानी क्यानबेरामा हुने गुरुङले बताए । फेब्रुवरी ३ मा त्यहाँस्थित ‘म्येनिङ क्लार्क हल, काम्ब्री’ मा नेपथ्यको प्रस्तुति हुनेछ ।

नेपथ्यले यसअघि पाँचपटक अष्ट्रेलियाको भ्रमण गरिसकेको छ । राजधानी क्यानबेरामा भने यसपटक पहिलो प्रस्तुति हुनेछ ।

पाँचौ कन्सर्टका लागि ब्याण्ड ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ । फेब्रुवरी ५ मा त्यहाँको ‘मेट्रो सिटी हल’ मा प्रस्तुति दिइनेछ ।

त्यसपछिको यात्रा पृथ्वीको दक्षिणी गोलार्द्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ । अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले फेब्रुवरी १० मा ‘होडर्न पभिलियन’ मा नेपथ्य गुञ्जिने छ ।

सिड्नीपछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुनेछ । उक्त राज्यको राजधानी मेलबर्नमा ब्याण्डले १३ फेब्रुवरीमा त्यहाँ कार्यक्रम हुने जनाइएको छ ।

कन्सर्टका लागि त्यहाँस्थित ‘फोरम मेलबर्न’ हलको छनौट गरिएको नेपथ्ले जनाएको छ । उक्त हल मेलबर्नकै केन्द्र मानिने फ्लिन्डर्स रेलवे स्टेशन नजिकै छ ।

त्यसपछिको नेपथ्यको यात्रा अष्ट्रेलियाकै पुछारतर्फको हुनेछ । अष्ट्रेलियाको बेग्लै टापुमा बसेको राज्य तास्मानियामा अन्तिम कन्सर्टको निम्ति नेपथ्य पुग्नेछ । त्यस राज्यको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’ मा फेब्रुवरी १७ मा नेपथ्यका लोकभाकाहरु घन्कने छन् ।

अष्ट्रेलिया यात्राका लागि छजना संगीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली जनवरी २० मा त्यसतर्फ प्रस्थान गर्दैछ । पूर्वनिर्धारित आठवटा कार्यक्रम प्रस्तुत गरेर फेब्रुवरी २० मा टोली नेपाल फर्कने छ ।

यो यात्रामा गुरुङका सहयात्रीहरु ड्रमसेटमा ब्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझी रहने छन् । अस्ट्रेलिया यात्रासँग सम्बन्धित जानकारी नेपथ्यको आधिकारिक वेबसाइटमा उपलब्ध हुने गुरुङले बताए ।

तस्बिरहरुः दिपित राज/नेपालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *