तरङ्गका स्पर्शी रेसा

कुनै भय
मनको बाटो हुँदै
मुटुभित्र पस्छ नि
थाहा छ के हुन्छ ?

भय,
शङ्काको पनि हुन सक्छ
र साँचो यथार्थ पनि,
उही
तरङ्ग नै हो, मन हल्लाउँने त !

अनुभूतिको
गहिरो सागरको
के अर्थ रहन्थ्यो होला
तरङ्गै तरङ्गको
मनमोहक छाल
आँखामा दृश्यवान हुँदै
किनारालाई स्पर्श नगरे
को धाउँथ्यो सामुद्रिक भ्रमण ?
दूरसम्म
आनन्दलाई तरङ्गित हुँदै
समीपमा अँगाल्न नपाए ?

के प्रेमको परिभाषा
यति सरस
रसिक हुन्छ ?
त्यो नजरको भाव
तरङ्गका स्पर्शी रेसा
मायालु आभासमा
ज्वार बनी
यो मुटुमा नसल्बलाए ?

वाह !
यो तरङ्गको
तार अदृश्य भएर
सबैलाई छोएको छ
समेटेको छ
एउटा जीवनको गतिमा
अनन्त
उत्ताल
तरङ्ग ताल बनेर ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *