प्रतिनिधिसभा सभामुखका लागि एमालेका घिमिरे र कांग्रेसकी न्यौपानेको उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाको समामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखको उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले प्रदेश १ का इन्चार्जसमेत रहेका घिमिरेको प्रस्तावकमा एमाले नेता सुवास नेम्बाङ छन् । समर्थकमा राजेन्द्रप्रसाद लिङ्देन, रवि लामिछाने र हितराज पाण्डे छन् ।

सभामुखको निर्वाचनका लागि आज बुधबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । सभामुख चयनका लागि भोलि बिहीबार मतदान हुनेछ ।

कांग्रेसकी न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।

उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।

संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधिसभाको सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *