टुंगियो भागबण्डा, मन्त्रिपरिषद विस्तार हुँदै

काठमाडौं । सत्ता साझेदार राजनीतिक दलहरुबीच मन्त्रालयको भागबन्डा टुंग्याइएको छ । सोमबार राति भागबण्डा टुंग्याइएको हो । त्यसअनुसार मंगलबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

सम्बन्धित दलहरुले नाम सिफारिस गरेपछि नयाँ मन्त्रीहरुलाई मंगलबार दिउँसो १ बजे शपथ ग्रहण गराइने भएको छ । गठबन्धन नेतृत्वकर्ता दल नेकपा एमालेले आठ मन्त्रालय पाउने सहमति गरिएको छ । यसअघि एमालेबाट चारजना मन्त्री सरकारमा सहभागी छन् ।

एमालेका अब चारजना थपिने छन् । एमालेले यसअघि उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएको छ । अरु मन्त्रीलाई भने हालका लागि जिम्मेवारी तोकिएको छैन ।

एमालेले अब स्वास्थ्य, रक्षा, परराष्ट्र, भूमि सुधार, उद्योगलगायत मन्त्रालयको जिम्मा पाउने बताइएको छ ।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन् । सरकारमा पठाउने अन्यको नाम टुंगो लगाउन माओवादी केन्द्रले अन्तिम तयारी गरेको नेताहरुलेब ताएका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार सुदन किराँती, महिन्द्रराय यादव, रेखा शर्मालगायत मन्त्रिपरिषदमा सहभागी हुने सम्भावित नाम हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि एक राज्यमन्त्रीसहित चार मन्त्रालय पाउने भएको छ । पार्टी सभापति रवि लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । अब शिक्षा र श्रम मन्त्रालयमा उक्त पार्टीबाट प्रतिनिधित्व हुने भएको छ ।

अर्को साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्री र एक राज्यमन्त्रीसहित तीन मन्त्रालय पाउने भएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री र उर्जा मन्त्रालयको जिम्मेवारी समाल्ने जनाइएको छ भने खानेपानी र खेलकुद मन्त्रालय पनि राप्रपाकै भागमा पर्ने सम्भावना छ ।

जनमत पार्टीले एकजना मन्त्री पाउने सहमति भएअनुसार अब्दुल खान मन्त्री बनिसकेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) लाई दुईवटा मन्त्रालय पाउने सम्भावना छ ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने पहल प्रधानमन्त्री दाहालले गरिरहेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *