‘सामाजिक सञ्जालमा आएका भिडियो आइतबारको विमान दुर्घटना होइन’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे भ्रमपूर्ण कुराहरु सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबारकै विमान दुर्घटनाको भन्दै सामाजिक सञ्जालहरुमा भिडियोहरु राखिएको पाइएको तर त्यसमा कुनै सत्यता नरहेको प्राधिकरणले उल्लेख गरेको छ ।

‘सामाजिक सञ्जालमा आएका भिडियो फुटेजहरू हामीले पनि हेर्यौँ। त्यसमा कुनै सत्यता छैन,’ प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘जुन एउटा फेसबुकमा लाइभ भएको भिडियो देखिन्छ, त्यो हिजो दुर्घटना भएको जहाजको नभई अन्य कुनै जहाजको भएको बुझिन्छ। यस घटनालाई जोडेर भ्रम फैल्याउने हिसाबले कसैले गलत सूचना संप्रेषण गरेको देखिन्छ।’

विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै प्राधिकरणले अनुमानको भरमा विज्ञता नदर्शाउन पनि आग्रह गरेको हो।

छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने प्रवक्ता निरौलाले बताएको न्युज एजेन्सी नेपालले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा विमानभित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै उनले त्यसमा सत्यता नरहेको स्पष्ट पारे ।

तस्बिरः एभिएसन नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *