‘सिड्नी’ मा सविन र रीमाको जोडी

काठमाडौं । नेपाली विद्यार्थीहरुको ‘सपनाको देश’ अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ ।

देवकुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो । आगामी बैशाखबाट छायांकन सुरु हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी बाँधिनेछ ।

ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत छायांकन नेपालमा र ८० प्रतिशत सिड्नीमा हुने जनाइएको छ ।

छायांकनमा निस्कनुअघि फिल्मका लागि अन्य कलाकार छनोट गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । फिल्मले नेपालदेखि अष्ट्रेलियासम्मको कथा बोल्नेछ ।

मूलतः फिल्म अष्ट्रेलिया पुगेपछि नेपालीले गर्नेपर्ने संघर्षको कथामाथि निर्माण हुनेछ ।

अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् ।

युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरिबहादुर घलेले छायांकन गर्नेछन् । फिल्मको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे छन् । एक्सन तथा थ्रिलरजनरामा निर्माण हुने फिल्म स्तरीय बन्ने प्रस्तुतकर्ता रसाइलीले दाबी गरे ।

कार्यक्रममा सविनले आफू एक्सन भूमिकामा देखिने संकेत गरे । उनले भने, ‘हुन त मैले यसअघि पनि धेरै एक्सन फिल्म गरेको छु । तर, यसपटक केही फरक देख्न पाइनेछ । मैले निर्वाह गर्ने भूमिका पनि पृथक लाग्न सक्छ ।’

रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् । सविनसँग पहिलो पटक फिल्ममा स्क्रिन शेयर गर्न उनी उत्साहित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *