लुम्बिनीलाई हराउँदै प्रदेश १ समूहको शीर्ष स्थानमा

सुनसरी । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा लुम्बिनी प्रदेशलाई हराउँदै प्रदेश १ विजयी बनेको छ ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश १ ले लगातार दोस्रो जित निकालेको हो ।

मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ९ ओभरमा झारिएको थियो ।

प्रदेश १ ले लुम्बिनीलाई ६० रनको लक्ष्य दिएको थियो । लुम्बिनीले पुरै ९ ओभर खेल्दा ७ विकेट गुमाएर ५० रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन जोडिन् । लुम्बिनीका अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

प्रदेश १ की संगीता राईले ३ विकेट लिइन् भने सबनम राई, ज्योति दनुवार र रुबिना क्षेत्रीले एक-एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन जोडेको थियो ।

प्रदेश १ का काजल श्रेष्ठले २१ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १७ रन जोडिन् भने अप्सरी बेगमले १२ रन जोडिन् ।

लुम्बिनीका कृतिका मरासिनी, सरस्वती पुन र बिभष्णा बीसीले १-१ विकेट लिए ।

प्रदेश १ ले २ खेलमा ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थान कायम गरेको छ ।

लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ ।

प्रतियोगितामा ८ टोलीको सहभागिता छ । उपाधि विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०-२० हजार पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *