कालीगण्डकीका शिला राम मन्दिरमा मूर्ति बनाउन अयोध्या लगिने

काठमाडौं । कालीगण्डकी नदीको शिला हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने भएको छ । अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको आज आइतबार विधिवत पूजा गरिएको छ ।
अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मूर्ति बनाएर राख्नका लागि छानिएका दुईवटा शिलाको विधिवत पूजा गरिएको हो ।
विश्व हिन्दू परिषद्का केन्द्रीय मन्त्री राजेन्द्रसिंह पंकजको पहलमा शिला पूजन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका तर्फबाट महासचिव जितेन्द्रकुमार सिंह, सचिव प्रल्हादकुमारसहित स्थानीय कार्यकर्ता, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव, गण्डकी प्रदेश प्रमुख पृथ्वी गुरूङ्ग, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलगायतको उपस्थिति थियो ।
कालीगण्डकी नदीबाट पवित्र बनेको मानिएका सात फिट लम्बाइ र पाँच फिट चौडाइका दुईवटा शिला अयोधया लैजानका लागि छानिएको थियो ।
विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्रकुमार सिंहले उक्त शालिग्राम बेनीबाट पोखरा, हेटौँडा हुँदै जनकपुरस्थित जानकी मन्दिरलाई हस्तान्तरण गरिने छ । त्यहाँबाट अयोध्या लगिने उने बताए ।
जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन तथा नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै शिला उपलब्ध गराउन प्रस्ताव गरिएको थियो ।
‘अयोध्याको आकर्षणको केन्द्र रामको मूर्ति बनाउन शिला लैजाने यस कार्यले अयोध्या, जनकपुर र मुक्तिनाथबीच पर्यटन प्रवर्द्धनमा कोसेढुंगा सावित हुनेछ’ महासचिव सिंहले भने ।