शिवम् सिमेन्ट्सले शेयरधनीलाई लाभांश वितरण गर्ने

हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । हेटौंडास्थित होटल सामनामा सम्पन्न आफ्नो सातौं वार्षिक साधारणसभामा यो निर्णय गरिएको हो ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको सभामा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० दशमलव ५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेलगायत प्रस्तावहरु पारित गरेको छ ।

सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी ५ जना सञ्चालकहरु निर्वाचित गरेको छ ।

नवनिर्वाचित सञ्चालकहरुको बैठकबाट गौरव गोयललाई सञ्चालक समितिको अध्यक्षम चयन गरेको छ । समितिले नेपाल सरकारका पूर्वसचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्तिको अनुमोदन गरेको छ ।

सभामा वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित गरिएको थियो । यसैगरी आगामी आर्थिक वर्षको आयव्ययको लेखापरीक्षण कार्य गर्न सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई नियुक्त गरिएको जनाइएकोछ ।

साधारणसभाका अवसरमा कम्पनीमा आवद्ध रही उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *