‘अहंकार किन ? आखिर सबैले खरानी हुनुपर्ने होइन ?’

माईधार (झापा) । माघे संक्रान्ति मेलाका लागि माईखोला बगरमा छाप्रा हाल्नेहरूको घुइँचो छ । सबै आ-आफ्नै सुरमा आफ्नै पाराले छाप्रा हालिरहेका छन् । चाँडै काम सकेर माइबेनी मेला भर्न आउने ग्राहक र माईमा स्नान गर्न आउने श्रद्धालुहरुका लागि आवश्यक सामान जुटाउन सबै हतारमा छन् ।
ती सबै दृश्य नियालिरहेका सूर्यबहादुर बस्नेतलाई भने हतार छैन । माईखोला किनारको घाटमा बनाइएको फलामे चितामा उनी सधैँझैँ कसैको पार्थिव शरीर जलाइरहेका छन् ।
चितामा शव जलिरहेको छ । आगो अलि कम बल्न थालेपछि बेला बेला घिउ, सुकेका दाउरा र अरु केके चिज हालिरहेका छन् ।
शव राम्ररी जल्न पाओस् भनेर उनी हरियो बाँसले चिताका दाउरा यताउता पल्टाइरहेका छन् । त्यसपछि दन्किएको आगोको रापबाट बच्न उनी अलि वर आएर टुसुक्क बस्छन् ।
मलामी गएकामध्ये केहीले सोध्छन्, ‘दाइ, अब कति बेर लाग्ला ?’
घुँडामा हत्केला टेकाएर उनी जुरूक्क उठछन् । अनि भन्छन्, ‘बाबु हतार गर्नु हुँदैन, मान्छेको अन्तिम विदाइ हो यो, आरामले जान दिनुपर्छ ।’
मान्छेले परिवारका लागि, घर-गाउँलेका लागि अनि अरूअरूका लागि हतार गर्दागर्दै जीवन बितेको पत्तो नपाउने भन्दै बस्नेतले यस्तो काममा हतारिनु नहुने भनेर उनीहरूलाई सम्झाए ।
झण्डै तीस वर्षदेखि ‘मान्छेको अन्तिम विदाइ’ गर्ने काम गर्दै आएका उनले समुदाय र संस्कारअनुसार कहिले गाड्ने अनि धेरैजसो जलाउने गर्दै पार्थिव शरीरसँग नजिकै भएर काम गरेका छन् ।
यो अवधिमा उनकै भनाइमा हजारौं शवको अन्तिम संस्कार गरिसकेका छन् ।
‘खै, कहिल्यै गनिएन’ उनले भने, ‘गणना राखेरै पनि पो के गर्नु ? मान्छे आउने जाने क्रम चलिरहन्छ, एक दिन म पनि त्यही बाटो जाने हो ।’
अन्तिम संस्कार गर्ने क्रममा कतिपयले शव छिटो जलाउन भन्ने गरेको उनले सुनाए । तर आफूले कहिले पनि हतार नगरेको बताउने बस्नेतले दिनमा बढीमा तीनवटा शवको मात्र अन्तिम संस्कार गर्ने सुनाए ।
‘यहीँ अरू पनि छन् मेरोजस्तो काम गर्ने’ उनले भने, ‘दिनमा जति सक्यो उति धेरै
शव जलाइरहेका हुन्छन्’ त्यसो गर्दा विधि पनि पुग्दैन, आफूलाई सन्तोष पनि लाग्दैन, त्यसैले म कहिल्यै त्यसो गर्दिन ।’
बस्नेत ६७ वर्षमा हिंडिरहेका छन् । पुर्ख्यौली घर भोजपुर भएका उनी युवावयमै मधेसतिर झरेका रहेछन् ।
तिथि मिति ठ्याक्कै थाहा छैन तर युवा बेलामै मधेस झरेको उनले बताए ।
कारण सोध्दा उनी एकछिन घोरिए ।
हातले एकछिन पर्खन इशारा गर्दै चितातिर गए । बाँसले दाउराहरू यताउता मिलाए । कम हुँदै गएको आगोको ज्वाला उनले केही तरल पदार्थ छर्किएर दनदनी बनाए ।
अनि हात टक्टकाउँदै आएर भने, ‘किन मधेसतिर आएको भनेर सोधेको ?’
‘हजुर, हो ।’
‘ए’ भन्दै सुनाए-
‘बाउसँग कुरो मिलेन । बुढा आफ्नै पाराका । अलि कडा खाले । बाहिरफेर घुमफिर गर्नुपर्ने बानी मेरो । जहिल्यै झगडा नै परेजस्तो हुने के सनक चढ्यो घरबाट फुत्त निस्किएँ, त्यसपछि यताको यतै भइयो ।’
उनी माईधारमा रहेको धर्मशालामा एक्लै बस्छन् । आफैं पकाउँछन्, खान्छन् । कहिलेकाहीँ कतै धार्मिक अनुष्ठान भएकातिर गएर भोजन गर्छन् ।
‘म त वैरागी, जसो गरे पनि भइगो’ उनले भने, ‘कहिलेकाहीँ बक्राहा, बुढीखोला र कोसी नदीतिर गएर पनि शवको दाहसंस्कार गरेको छु, गाड्ने चलन हुनेहरूको माथि चारकोसे झाडीतिर लगेर गाडिएको पनि छ ।’
बिहे नगरेको बताउने उनी फुर्सदमा धार्मिक ग्रन्थहरू पढ्ने गर्छन् । माईधारका मन्दिर परिसर र धर्मशालाहरूमा भेला हुने अरू बुढापाकामाझ धार्मिक विषयमा गफिन्छन् ।
शव जलाउने क्रममा उनले धेरैपटक अनेक अप्ठ्यारा पनि खपेका छन् ।
एकपटक केही मानिसहरुले शव घाटमा ल्याएछन् । अगाडिको विधि गरिसकेर जलाउनका लागि चितामा राख्दाराख्दै प्रहरीको टोली आएर शव लिएर गएछन् ।
‘पछि पो थाहा पाएँ, आफैँ मारेर कालगतिले मरेको हो भन्दै हतारहतार यता ल्याएछन्’ बस्नेतले सुनाए, ‘मलाई यहाँ धेरैले चिन्थे र मात्रै नत्र झमेलामा फसाइदिने रहेछन् ।’
त्यसबेला मलामी आएका सबैलाई प्रहरीले नियन्त्रणमा लिएर गएको थियो । उनीसँग पनि सोधपुछ गरिएको थियो ।
कार्यालयमा बोलाएका बेला आउनुपर्छ भन्दै प्रहरीहरू फिर्ता गएको उनले बताए ।
उनीहरू को थिए, उनले हेक्का राखेनन् । प्रहरीले पनि त्यसपछि उनलाई कहिल्यै बोलाएन ।
‘दिनहुँजसो शव जलाउने काम, अनि एक्लै बसाइ, डर लाग्छ कि लाग्दैन ?’
सुनिसक्दा नसक्दै उनी मज्जाले हाँसे ।
अनि भने-
‘डर केको लाग्नु ? मानिसको चोला जुनसुकै बेला उठ्न सक्छ । यहीँ पनि कोही कलिलै उमेरमा पार्थिव भएर आइपुग्छन्, कोही मस्त युवा बेलाका हुन्छन् । बुढाबुढी त धेरै नै हुन्छन् । एउटा सानो त्यान्द्रो जस्तोमा अडिएको हुन्छ सबै, त्यही छिस्स चुँडिएपछि मान्छे मुढो बन्ने न हो । मरेकासँग डर लाग्दैन, बरू डराउनुपर्ने त जिउँदाहरूसँग हो नि !’
चिसो मौसम भए पनि दिन छिप्पिँदै गर्दा घाम चर्केको थियो । मौसम तात्न थाल्दा उनले स्वेटर बाहिर लगाएको कोट खोलेर छेउको डिलमा राखेका थिए । अब चिसो बतास चल्न थाल्यो। अनि उनी कोट लगाउन लागे ।
लगाउँदै गर्दा उनको कोटका भित्री, बाहिरी सबैजसो गोजीमा स-साना धार्मिक पुस्तकहरू देखिए ।
‘शास्त्रहरूमा मान्छेको अन्तिम संस्कारबारे के भनिएको छ ?’
उनले बेलिबिस्तार लगाए-
‘अँ, यो कुरा सबैले बुझ्नुपर्छ । जन्मिएका सबै प्राणी कुनै न कुनै दिन मरेर जानुपर्छ । अन्तिम सत्य भनेकै यही हो । हाम्रो धर्ममा १६ संस्कार हुन्छन् । त्यसमध्ये मृत्यु संस्कार नै अन्तिम हो । शवलाई विधिपूर्वक अग्निदाह गर्नुपर्छ । जाति र संस्कारअनुसार गाड्ने चलन पनि छ । जसरी गरे पनि विधि पुर्याएर गर्नुपर्छ नत्र परिवार, आफन्तले पिरोलिनुपर्छ ।’
‘शास्त्रले मृत्यु नै जीवनको अन्त्य होइन पनि भनेको छ भन्छन् त कतिपय ?’
यो सुनेर उनले सोधे, ‘नानी के थरी ?’
जवाफ पाएपछि भने-
‘हो । दाहसंस्कार गरेपछि अस्तुलाई नदीमा सेलाइन्छ । त्यसपछि तेह्र दिन गर्ने कर्म हुन्छ अनि एक वर्षसम्म गर्ने कर्महरू पनि हुन्छन् । पितृको श्रद्धाका लागि त आफू बाँचुञ्जेल गर्न सक्ने गर्नुपर्छ । तर शरीर नासिएर गयो भन्दैमा सबैथोक सकिने होइन । शरीरबाट अलग भएर गएको आत्मा अर्को कुनै नयाँ रूपमा प्रकट हुन्छ अथवा उसले मोक्ष पाउँछ भनेर शास्त्रले भनेको छ, तर दाहसंस्कार नगरेसम्म मृतकले मोक्ष पाउँदैन ।’
अब अन्तिम संस्कार विधि पनि अन्त्यतिर पुग्दै थियो ।
‘यो सबै काम गरेको पारिश्रमिक कति ?’
उनले भने- ‘उहिले सुरु सुरुमा ५० रूपैयाँमा एउटा शव जलाएको थिएँ । अचेल कसैले हजार दिन्छन्, कसैले दुई हजारसम्म दिन्छन् । म यतिउति देओ भनेर भन्दिन, थोरै दिए भनेर चित्त पनि दुखाउँदिन ।’
अचेल घाट व्यवस्थापन समितिले दाउरा, चिता पखाल्ने पानी र आवश्यक अन्य सामग्री उपलब्ध गराएर निश्चित शुल्क लिने गरेको बस्नेतले बताए ।
समितिले उनलाई तोकिएको पारिश्रमिक दिंदोरहेछ । त्यसबाहेक मृतकका आफन्तले गच्छेअनुसार आफूलाई बेग्लै रकम दिने गर्छन् ।
जान्दा जीवन आनन्दले बिताउन सकिने अनि नजाने दुःखैदुःखमा बेरिनुपर्ने अनुभव आफूले गरेको उनले सुनाए ।
‘ए… मान्छेले बाँचुञ्जेल अनेक धक्कु लगाउँछन्, संसारै मेरो बनाउँछु भनेर अहंकार गरिहिँड्छन्’ चिता पखाल्नुपर्ने समय भएकाले कुरो टुङ्ग्याउने संकेत गर्दै उनले भने, ‘के को धक्कु ? किन अहंकार ? आखिर सबैले यी… यहीँ आएर खरानी हुनुपर्ने होइन ?’