ओलम्पिक छनोट खेलमा नेपाली महिला टिम

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पेरिस ओलम्पिक २०२४ छनोटको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) को क्वालालम्पुरस्थित मुख्यालयमा गरिएको ‘ड्र’ अनुसार नेपाल प्रारम्भिक चरणमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै समूह ‘सी’ मा परेको छ ।
नेपाली महिला टिमले टोकियो ओलम्पिक २०२० मा पहिलोपटक ओलम्पिक छनोट खेल खेलेको थियो । त्यसबेला नेपाल दोस्रो चरणसम्म पुगेको थियो ।
पेरिस ओलम्पिकका लागि एसियाली छनोटको प्रारम्भिक चरणका खेलहरू अप्रिल ३ देखि ११ सम्म हुनेछ ।
नेपालले पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यसपछि अफगानिस्तानसँग खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले फिफा वरीयतामा ६९ स्थानमाथि रहेको भियतनामको सामना गर्नेछ ।
प्रारम्भिक छनोटमा सहभागी २६ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
उनीहरूले दोस्रो चरणमा सिधै प्रवेश पाएका उत्तर कोरिया, जापान, अस्ट्रेलिया चीन र दक्षिण कोरियासँगै तीन समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् ।
समूहका शीर्ष टिमसँगै दोस्रो हुनेमध्ये उत्कृष्ट एक टिम छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।