प्रदेश १ उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी प्रदेश सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् । उनको पक्षमा ५७ मत परेको थियो । प्रतिपक्षी दलबाट उम्मेदवार बनेकी कांग्रेसकी लीला राईको पक्षमा ३३ मत परेको थियो ।

९३ सांसदमध्ये दुईजना अनुपस्थित थिए । अर्का एकजना सभामुख छन् । शनिबार बसेको प्रदेशसभाको बैठकमा निर्वाचन प्रक्रियापछि सभामुख बाबुराम गौतमले दनुवारलाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।

दनुबारलाई उपसभामुखमा निर्वाचित गराउन एमालेका तिलचन पाठकले सदनमा प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि माओवादी केन्द्रकानारायणबहादुर मगरले समर्थन गरेका थिए ।

कांग्रेसकी प्रदेश सांसद खगेश्वरी पौडेलले कांग्रेसकी राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्ताव सदनमा पेस गरेकी थिइन् । नेकपा एकीकृत समाजवादीकी सांसद विद्या चाम्लिङ् राईले त्यसमा समर्थन गरेकी थिइन् ।

दलीय भागबण्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको हो । सत्तारूढ दलमध्ये एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० जना प्रदेश सांसद छन् ।

यसअघि माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित बाबुराम गौतम सभामुखमा निर्वाचित भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *