विदेशमा लगानी नगर्न राष्ट्रबैंकले गरायो सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी काम नगर्न सूचना जारी गरेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै विदेशमा लगानी हुनेगरी कुनै पनि काम नगर्न, नगराउन सचेत गराएको हो ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सोही ऐनको दफा ९ (ग) ले अनुसारको व्यवस्थाबमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न नपाउने जनाएको छ ।
विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा बचत गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार गर्न उक्त ऐनअनुसार निषेध गरिएको छ ।
निषेधित कार्य गर्ने, गराउने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने पनि राष्ट्र बैंकले जनाएको छ ।
‘नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु जस्तैः विदेशमा घरजग्गा खरिन, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (सो सम्बन्धी प्रचारप्रसार समेत) र यस बैंकले तोकिएको व्यवस्था बमोजिमबाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्नु/नगराउनु हुन’ राष्ट्रबैंकले जारी गरेको सूचनामा भनिएको छ ।