रिहा भए सन्दीप लामिछाने

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार उनी मुक्त भएका हुन् ।

उनी असोज २१ गते विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई सर्तसहित रिहा गर्ने आदेश दिएको थियो ।

नाबालिगलाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न आदेश दिएको थियो ।

त्यसपछि लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

अदालतले लामिछानेलाई यो मुद्दा, पीडित किशोरी र उनको परिवारका सदस्यबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुनै टीका टिप्पणी गर्न वा धारणा राख्न पनि रोक लगाएको छ ।

‘पीडित किशोरी र उनको परिवारसाग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा कुनै माध्यमबाट डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्नेसम्बन्धी कुनै कार्य नगर्ने’ भन्ने पनि अदालतको आदेशमा उल्लेख छ ।

काठमाडौं उपत्यका छाड्नुपरे छाड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिन पनि अदालतले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *