बराहक्षेत्रमा मकर संक्रान्ति मेलाको तयारी

सुनसरी । सुनसरीको बराहक्षेत्रमा माघे संक्रान्तिमा लाग्ने मेलाका लागि अन्तिम तयारी भइरहेको छ । बराहक्षेत्र संरक्षण मञ्चको अगुवाइमा मेलाका लागि तयारी अन्तिम चरणमा पुगेको हो ।
बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेका अनुसार मेलाका लागि आवश्यक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले मेलामा सुरक्षा व्यवस्थापन गर्ने जनाइएको छ ।
पुस मसान्तदेखि माघ १ गतेसम्म मेलामा भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ ।
नेपालका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय क्षेत्रबाट पनि श्रद्धालु भक्तजनहरु मकर स्थानका लागि आउने गरेको समितिले जनाएको छ ।
स्नान घाटहरुको सफाइ गर्ने, धाम क्षेत्रमा रंगरोगन र अन्य व्यवस्थापन गर्ने काम भइरहेको छ ।
माघे संक्रान्तिका दिन मकर स्नान गर्न श्रद्धालुहरु बराहक्षेत्र आउने गर्दछन् । बराह पुराणका अनुसार माघ १ गतेबाट उत्तारक सुर हुन्छ र देवताहरू जागृत हुन थाल्छन् ।
माघ १ गतेबाट नै सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।
संक्रान्तिका दिन बराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे मनकामना पूरा हुने साथै मोक्ष प्राप्ति हुने विश्वास छ ।
संक्रान्तिका अवसरमा लाग्ने मेलामा स्थानीय क्षेत्रमा उत्पादित बस्तुहरुको बिक्री पनि बढ्ने गरेको छ ।
तस्बिरः बराह दर्पण