विराटनगर विमानस्थलबाट अब यात्रुलाई सामान लिन सहज हुने

विराटनगर । हवार्ई यात्रुहरुलाई आफ्नो सामान सुरक्षित रुपमा लिन सजिलो होस् भन्ने उद्देश्यले विराटनगर विमानस्थलमा नयाँ व्यवस्था गरिने भएको छ । आगमन कक्षमा ‘कन्भेयर बेल्ट’ जडान गरेर यात्रुलाई सहजता प्रदान गरिने भएको हो ।

विमानस्थलमा ‘कन्भेयर बेल्ट’ जडान गर्ने काम धमाधम भइरहेको छ । जडानको काम सकिएपछि माघ दोस्रो साताबाट सेवा सुरु गरिने भएको छ ।

आन्तरिक उडानमा आउने ब्यागेज र यात्रुका सामग्री लिन अचेल भिडभाडका साथ यात्रुहरु झुम्मिने गरेका छन् । यात्रुहरू जहाजबाट ओर्लिएपछि सामान लिन लामो समय पर्खनुपर्ने अवस्था छ ।

कन्भेयर बेल्ट जडान भइसकेपछि यात्रुले व्यवस्थित रुपमा आफ्ना सामान लिन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

उक्त बेल्टमा यात्रुका सामान राखिने छ । त्यसको नजिक उभिएका यात्रु भएतिर घुम्दै सामान आउने भएकाले आफ्नो सामान यात्रुले सजिलो गरी लिन सक्नेछन् ।

विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाका अनुसार काठमाडौंको सिटीएचएनटीई जेभी कम्पनीले बेल्ट जडानको जिम्मेवारी लिएको छ ।

४० मिटर लम्बाईको उक्त बेल्टमा एक घण्टामा २ हजार ४ सय ब्यागेज यात्रुलाई सहज रुपमा लिन सक्ने गरी व्यवस्थापन हुने जनाइएको छ ।

यस्तो सुविधा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिल्यैदेखि उपलब्ध छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले गत चैतदेखि विराटनगर, नेपालगन्ज र धनगढीस्थित विमानस्थलमा ‘कन्भेयर बेल्ट’ राख्ने जनाएको थियो ।

विराटनगर विमानस्थलबाट सामान्यतयाः दैनिक १५ देखि १७ वटा उडान हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *