‘टिकटक लाइभ’ मा जुवाः चारजना प्रहरीको नियन्त्रणमा

काठमाडौं । ‘टिकटक लाइभ’ को माध्यमबाट जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भिडियो शेयर गरिने एप ‘टिकटक’ को दुरुपयोग गर्दै जुवा खेलाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

दाङको राप्ती गाउँपालिका ३ घर भइ ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर सूर्यविनायक १० का २७ वर्षीय कपिल गिरी, मध्यपुर थिमि नगरपालिकाका २१ वर्षीय प्रेम कठायत र कैलाली गौरीगंगा नगरपालिका ६ घर भइ मध्यपुर थिमि बस्ने २० वर्षीय डिल्लीराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौंका विभिन्न स्थानमा ई–सेवा र अरु वालेटमा पैसा जम्मा गर्न लगाएर जुवा खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुमाथि निगरानी गरिरहेको थियो ।

प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी वृत्त जगाती र ठिमी पठाइएको छ ।

विभिन्न खाले डिजिटल वालेटमा पैसा जम्मा गर्न लगाएर जुवा खेलाउने समूह सक्रिय रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *