स्ववियु निर्वाचन स्थगित भएको सूचना !

लामो समयसम्म हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यसपटक हुने भएको छ । निर्वाचन नहुँदा क्याम्पसहरूमा ‘राजनीति’ ले औपचारिक रुपमा सक्रिय हुन नपाएको देखिए पनि दलीय गतिविधिको बाछिटाले नभेट्ने कुरै भएन ।

तर अब उहिलेकै जस्तो दिन फिर्ने भएको छ । शैक्षिक संस्थाहरुमा बेग्लै खाले चहलपहल बढ्ने भएको छ ।

विगतमा स्ववियु निर्वाचन हुँदाका बेला अनेक खाले गतिविधि, प्रिय–अप्रिय घटनाक्रम हुने गरेको सबैलाई थाहै छ ।

हुन त, विद्यार्थी हक अधिकारका लागि लड्ने र राम्रो शैक्षिक वातावरण बनाउने माध्यमका रुपमा पनि स्ववियु उपयोग हुन सक्छ । गरिनुपर्छ । कतिपय अवस्थामा त्यस्तो भएको पनि छ । तर अधिकांश बेला ‘विद्यार्थी राजनीति’ को आधारभूत कक्षाजस्तो स्ववियु निर्वाचनका बेला अनेक खाले रोचक रोमाञ्चक अभ्यासहरू भने अभिन्न अङ्गझैँ बनेका थिए ।

तिनै प्रसंगहरूलाई यहाँ रमाइलोका रूपमा प्रस्तुत गरिएको छ । यो वास्तवमै रमाइलोका लागि हो । यदि कतै, कुनै संगठन, नेता, निकाय, समूहहरुको गतिविधिसँग ठ्याक्कै मेल खाएको अवस्थामा भने सबैले म..म भनौं ।

अँ, अब स्ववियु निर्वाचन हुने नै भएको छ । क्याम्पसमा स्ववियु निर्वाचन गर्न, गराउन तालुक अड्डाबाट उर्दी जारी भएको छ। अब तपशील बमोजिमका घटनाहरु देख्न पाइनेछ–

क्याम्पस प्रमुखहरुको मुटुमा ढ्याङ्ग्रो बज्न शुरु भइसकेको हुनुपर्छ ।

राजनैतिक भागबण्डामा प्राध्यापकहरुको एउटा निर्वाचन समिति बन्नेछ।

पराजय निश्चित महसुस गर्ने विद्यार्थी संगठनले चुनाव हुन नदिन अनेकन बखेडा निकाल्नेछन् ।

विजय सुनिश्चित महसुस गर्ने विद्यार्थी संगठन चुनाव हुनैपर्छ भनेर अड्डी कस्नेछन् ।

क्याम्पस प्रशासन ‘संकट’ मा पर्नेछ ।

आफ्नो भातृ संगठनको पराजय निश्चित हुने बुझेपछि माउ पार्टीको निर्देशनमा केही थान प्राध्यापकहरु जिम्मेवारीबाट अलग हुँदै बीचैमा टाप कस्नेछन् । बचेखुचेको निर्वाचन समिति बलिको बोको हुनेछ ।

क्याम्पसमा कहिल्यै नदेखिएका चुन्द्रेमुन्द्रेहरुको विद्यार्थी भेषमा चुरीफुरी बढ्नेछ।

जिन्दावाद, मूर्दावादको भाकामा कुर्सी, टेबलबाट धुवाँको मुस्लो निस्कनेछ, झ्यालका सिसाहरु छर्ल्यामछुर्लुम हुनेछन्, केही थान हातखुट्टा र थोपडाहरुले नमिठो ऐया अनुभव गर्नेछन् ।

सूचनापाटीहरु विज्ञप्तिमय हुनेछन् ।

प्रहरी प्रशासन मूकदर्शक भूमिकामा सवै घटनाको साक्षी भई टोपल्नेछन् ।

अन्त्यमा क्याम्पस प्रशासनबाट चुनाव स्थगित भएको सूचना जारी हुनेछ ।

यस्तै होस् भन्ने कामना पटक्कै होइन । यस्तो हुँदै हुँदैन भनेर कोही कसैले ठोकुवा गर्न पनि सक्दैन ।

आशा गरौं, वास्तविक उद्देश्यका लागि स्ववियु निर्वाचन शान्तिपूर्ण, स्वस्थ प्रतिस्पर्धात्मक होस् अनि विद्यार्थीले आफ्ना हक अधिकारका लागि आवाज उठाइदिने अभिभावक पाएको महसुस गर्न सकुन् । अहिलेलाई शुभकामना भनौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *