मन्त्रिपरिषद बिस्तारका लागि भागबन्डा मिलाउने कसरतमा दलहरू

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलले आज बिहीबार मन्त्रालय भागबन्डा टुंग्याउने भएका छन् । भागबन्डा नटुंगिंदा मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि सात दल सरकार विस्तारको गृहकार्यमा जुटेका हुन् ।

भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक बस्ने भएको छ ।

पुस ११ गते शपथ लिएलगत्तै प्रधानमन्त्री दाहालले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक–एक जनालाई उपप्रधानमन्त्रीसहित मन्त्रालयको जिम्मा दिइएको छ ।

भागबन्डा मिलाउनुपर्ने अवस्था भएकाले चारजना मन्त्री बिना विभागीय छन् ।

सरकार बिस्तारका क्रममा सामेल हुने दललाई कति मन्त्रालय र कुनकुन दिने भन्ने छलफल गर्न हिजो बुधबार साँझ प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख चयनका विषयमा पनि छलफल भएको ओलीको सचिवालयले जनाएको छ । संसद् सचिवालयले सभामुखको निर्वाचन मिति माघ ५ गतेका लागि तोकेको छ ।

सरकारमा एमालेले आठ, माओवादी केन्द्रले ६, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३–३ तथा जनता समाजवादी पार्टीले दुई मन्त्रालय दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *