इन्भेस्टमेन्ट र मेगा मर्जरपछि एकीकृत कारोबार सुरू

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मिलेर बनेको ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ ले बुधबारबाट एकीकृत कारोबार सुरु गरेको छ ।

इन्भेस्टमेन्टको ९० कित्ता सेयर बराबर मेगा बैंकको १ सय कित्ताका दरले दुई बैंक ‘मर्ज’ भएका हुन् । नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बनेका छन् । बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे छन् ।

मर्जरपछि बैंकको कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ । चुक्ता पुँजी ३४ अर्ब १२ करोड र कुल पुँजी ५८ अर्ब रुपैयाँभन्दा बढी छ ।

ग्राहक संख्या ३० लाख, बैंकको कुल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ र कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । अब बैंकले २ सय ९६ शाखा, ५८ एक्सटेन्सन काउन्टर र २ सय ७९ एटीएममार्फत मुलुकभर वित्तीय सेवा प्रवाह गर्ने जनाएको छ ।

नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकहरूको प्रतिनिधित्व रहने जनाइएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिब्रेवाला र मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे चुनिएका छन् ।

साविक नेपाल इन्भेस्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रूपमा रहेकी मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेको जनाइएको छ ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले केही वर्षपछि वाणिज्य बैंकहरूको संख्या घटेर बढीमा ७ देखि ८ वटामा सीमित हुने दाबी गरे ।

अहिले पहिलो चरणको मर्जर भइरहेको र यो क्रम दोस्रो चरणसम्म पुग्दा बैंकको संख्या ७र८ वटामा सीमित हुने उनको तर्क छ ।

मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्ने, अन्य बैंकहरूलाई समेत मर्जरमा प्रेरित गर्ने र नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गर्ने उनले बताए ।

यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद एवं सकारात्मक कदम भएको साविकको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *