सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जबरजस्ती करणी आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

देशबाहिर जान भने सरकारको अनुमति लिनुपर्ने सर्त आदेशमा उल्लेख गरिएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए ।

शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने भएको छ । धरौटीको प्रक्रिया पूरा भएपछि उनी थुनामुक्त हुनेछन् ।

गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा उनी पक्राउ परेका थिए । भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

प्रहरीले लामिछानेविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । त्यस बेला लामिछाने केन्यासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए ।

त्यहीँबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएपछि आफू निर्दोष भएको दाबी गर्दै लामिछाने उक्त मुद्दाविरुद्ध उच्च अदालत पाटन गएका थिए ।

आरोप लागेपछि उनी क्रिकेट टिमको जिम्मेवारीबाट मुक्त गरिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *