लुम्बिनी बन्यो टी-ट्वान्टी लिग च्याम्पियन

काठमाडौं । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
विराटनगरका लागि अर्जुन साउदले ३४ रन बए भने पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाए ।
लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान दुई–दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान एक–एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो ।
लुम्बिनीका लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए ।
विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई–दुई तथा हुसेन तलत, कियोन जोशेफ, सूर्य तामाङ र कप्तान रोहित पौडेलले एक–एक विकेट लिए ।
उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता थियो ।
प्रतियोगितामा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले प्रतिस्पर्धा गरेका थिए ।