‘विश्वास मत अनि प्रतिपक्षः भात खाएर व्रत !’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने नेपाली कांग्रेसको निर्णयप्रति उसैका केही नेताहरुले फरक मत राखेका छन् । अन्तिम समयमा आएर कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको हो ।
कांग्रेसको यो निर्णयले धेरैलाई चकित बनाएको छ । यसबारे सामाजिक सञ्जालमा रोचक, रोमाञ्चक खाले टिप्पणी र प्रतिक्रियाहरु आइरहेका छन् ।
धेरैले व्यंगात्मक शैलीमा कांग्रेसप्रति टिप्पणी गरेका छन् । मुलुक प्रतिपक्षीविहीन बन्ने भयोदेखि समर्थन नै गर्नु थियो भने उबेलै प्रधानमन्त्री दिएको भए हुन्थ्यो भन्नेसम्मका टिप्पणीहरु आएका छन् ।
सामाजिक सञ्जाल ट्विटरका प्रयोगकर्ताहरुले विभिन्न खाले प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।
पत्रकार एवं आमसञ्चारका जानकार उज्ज्वल आचार्यले रोचक ढंगले प्रतिक्रिया व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘विश्वासको मत दिएर प्रतिपक्षमा बस्छु भन्नु र भात खाएर व्रत बस्छु भन्नु एउटै–एउटै होइन र ?’
लच्छु नामबाट ट्विटर प्रयोगकर्ता ले लेखेका छन्, ‘कांग्रेसकै भोट थपिएर जितेका माओवादी भएरै त होला देउवाले विश्वासको मत दिने हुनुभएछ । प्रतिपक्षीविहीन ?’
निशान घिमिरेले अबका दिनमा जनता नै प्रतिपक्षी हुने भन्दै लेखेका छन्, ‘प्रचण्डलाई नफकाइ केही नहुने भयो नेपालको राजनीतिमा भन्ने लागेछ क्यारे कांग्रेसलाई । अब हामी सार्वभौम नेपाली जनता नै हुने भयौं प्रतिपक्ष ।’
कुञ्जबिहारी नामका ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘विश्वासको मत दिने राप (राष्ट्रपति) र दुई मन्त्री लिने, यसो गरे कसो होला ?’
मनिषा चौंलागाईंले ठट्टामिस्रित प्रतिक्रिया दिएकी छन् । उनी लेख्छिन्, ‘धोका दिएर जाने एक्सलाई पनि कति माया गर्न सक्या बाई यो कांग्रेसले ।’
यसैगरी अर्का प्रयोगकर्ता विनोदले देश एक दलीय वा निर्दलीयतिर गएको हो भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘आखिर कांग्रेसले समर्थन गर्ने निर्णयले एक दलीय या निर्दलीय पञ्चायती व्यवस्थामा देश गएकै हो त ?’
ओलीले माया गरेर प्रधानमन्त्री बनाएका दाहाललाई देउवाले माया नगर्ने कुरै भएन भन्ने आशयको प्रतिक्रिया अर्का ट्विटर प्रयोगकर्ता निर्मल दाहालले व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘ओल्बाले त माया गरेर प्रधानमन्त्री बनाएका ठुल्बालाई देउवाले माया नगर्ने कुरै भएन रु अरु तेस्तै हो ओल्बाको प्रधानमन्त्री बन्ने सपनामा तुषारापात, ठुल्बाले पाँच वर्ष नै प्रधानमन्त्री खाने निश्चित।’
‘दाहाल सरकारलाई नेपाली कांग्रेसले पनि समर्थन जनाएपछि ओलीजीलाई देउवाजी सौता जस्तो लाइरा र’छ । हैट, कस्तो असुरक्षित ।’ संसदमा सम्बोधनको सारांश ।’ यो प्रतिक्रिया हो इन्द्र अधिकारीको ।
पत्रकार मिलन बुढाथोकीले व्यंग्यात्मक शैलीमा पछिल्लो घटनाक्रमबारे टिप्पणी गरेका छन् ।
बुढाथोकी ट्विटरमा लेख्छन्, ‘कांग्रेसले व्याख्यात्मक टिप्पणीसहित सरकारमा जाने कुरो गर्नु संवौनिक भाग लिन ठाउँ राख्नु हो । नत्र नियमबमोजिम उ सत्तापक्ष हो । बरु शितल निवासमा शपथ लिएकै दिन समर्थन गर्दिको भए हुन्थ्यो ।’
अर्का ट्विटर प्रयोगकर्ता रोशन बस्नेतको प्रतिक्रिया यस्तो छ–
‘प्रतिपक्षीको एक्लो जिम्मेवारी माननीय प्रेम सुवालको काँधमा ! प्रजातन्त्रलाई ‘साझा संकल्प’ का रुपमा अगाडि बढाउनुपर्ने जिम्मेवार दल प्रजातन्त्रका न्यूनतम मूल्य समेत आत्मसाथ गर्न असफल ! नेपाली संसदीय राजनीतिमा अनौठो प्रयोग !!
कांग्रेसले पनि विश्वासको मत दियो भने उपप्रधानमन्त्री गगन थापालाई बनाए हुन्छ भन्दै दिपेन्द्र अधिकारीले लेखेका छन्– ‘राप्रपालाई पनि उपप्रधानमन्त्री बनाउने । देशमा यति धेरै उपप्रधानमन्त्री भएपछि विकासले फड्को मार्छ ।’
सरकार विस्थापित बनाउने योजना हुन सक्ने आशंका गर्दे उज्वल न्यौपानलेले लेखेका छन्, ‘पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई छिट्टै विस्थापित गराउने खेल खेलेछ कांग्रेसले । यसका बाछिटाहरु केही समयमै देखिएला कि!’
‘नयाँ इतिहास रच्दै नेपाल प्रतिपक्षविहीन देश’ ट्विटर प्रयोगकर्ता विनोदले यस्तो लेखेका छन् ।