विराट गोल्डकपको छैटौं संस्करण चैत पहिलो साता

विराटनगर । प्रदेश १ को प्रतिष्ठित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ को छैटौं संस्करण चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश १ को राजधानी विराटनगरस्थित शहिद रंगशालामा हुने प्रतियोगितामा स्वदेशी ६ तथा विदेश २ टिमको सहभागिता रहने छ ।
विराट गोल्डकप ट्रस्टले विराटनगर महानगर प्रमुख नागेश कोइरालालाई प्रतियोगिताको संयोजकको जिम्मेवारी दिएको छ ।
महेन्द्र गोल्डकपका नाममा २०१८ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६२–६३ को राजनीतिक परिवर्तनपछि २०६७ देखि विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ ।
ट्रस्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार महेन्द्र गोल्डकपका नाममा ३८औं पटक र विराट गोल्डकपका नाममा छैटौं पटक आयोजना हुन लागेको हो ।
प्रतियोगिताका सबै खेल फ्लडलाइटमा राति खेलाइने छ । शहिद मैदानमा प्रदेश १ सरकारको करिब ५ करोड लागतमा शहिद मैदानमा फ्लडलाइटको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको छैटौं सस्करण विजेताले २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार पुरस्कार पाउने प्रतियोगिताका संयोजक तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए ।
यसअघि आयोजित पाँचौँ सस्करण विजेता एपीएफले १५ लाख र उपविजेता पञ्जाब पुलिस क्लब भारतले ७ लाख ५० हजार पुरस्कार पाएका थिए ।
कोराना भाइरसको महामारीका कारण दुई वर्ष सो प्रतियोगिता हुन सकेको थिएन । यसपटक प्रतियोगितालाई भव्य बनाउन विभिन्न समिति र उपसमितिहरु गठन गरेर काम अघि बढाइने आयोजकले जनाएका छन् ।
प्रतियोगिता आयोजकले केही समयदेखि सुस्ताएको विराटनगरको फुटबल क्षेत्र फेरि जुर्मुराउने अपेक्षा आयोजक संस्थाहरुले गरेका छन् ।
(फाइल तस्बिर ।)