सेवा आयोगले खुलायो ६८६ शिक्षक पदपूर्तिका लागि विज्ञापन

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि विभिन्न विषयमा शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले वार्षिक कार्यतालिका अनुसार चालू शैक्षिक सत्रका लागि ६८६ सिटका लागि विज्ञापन आह्वान गरेको हो ।

उक्त संख्यामा गत वर्षको रिक्त ३७० दरबन्दी र नयाँ ३१६ दरबन्दी समेत रहेको जनाइएको छ । त्यसअनुसार नेपाली विषयको शिक्षकका लागि १११ सिट, अंग्रेजीका लागि ८४, गणितका लागि २०८, विज्ञानका लागि १९१, सामाजिक अध्ययनका लागि ५४, अर्थशास्त्रका लागि ८ सिटमा विज्ञापन आह्वान गरिएको छ ।

यसैगरी, कार्यालय सञ्चालन तथा लेखाका लागि १५, शिक्षा विषयका लागि १, स्वास्थ्य शिक्षाका लागि १, शुक्लयजुर्वेदका लागि १, संस्कृत व्याकरण ३, संस्कृतभाषा ७, कम्प्युटर विज्ञान १, संस्कृत साहित्य १ गरी ६८६ पदका लागि विज्ञापन आह्वान गरिएको छ ।

शिक्षक सेवा आयोगका अनुसार परीक्षा लिखित र अन्तर्वार्ता गरी दुई किसिमले हुनेछ । लिखितमा सामान्य र विषयगत परीक्षामा छनौट भएकालाई अन्तर्वार्तामा सहभागी गराइनेछ ।

माघ २४ गतेसम्म दरखास्त बुझाउन सकिने म्याद छ भने फागुन २ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ । आयोगका अनुसार लिखित परीक्षा सामान्यतर्फ चैत १८ गते हुनेछ । विषयगत परीक्षाको मिति सामान्य परीक्षाको नतिजा प्रकाशनपछि तय गरिनेछ ।

विज्ञापनअन्तर्गत प्रदेशस्तरमै प्रतिस्पर्धा र छनौट प्रदेशस्तरमा हुने जनाइएको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा हुनेछ ।

उम्मेदवारी दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकतह वा सो सरहको परीक्षा (कम्तीमा ३०० पूर्णाङ्क वा १२ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्ने जनाइएको छ ।

अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विषयको हकमा तालिम नलिए पनि विज्ञापनबमोजिम शिक्षक पदको लागि उम्मेद्वार हुन पाइनेछ । माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *