प्रदेश १ मा कार्की, वाग्मतीमा जम्मकट्टेल, गण्डकीमा अधिकारी बने मुख्यमन्त्री

काठमाडौं । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा सोमबार मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश १ र गण्डकी प्रदेशमा नेकपा एमाले तथा वाग्मतीमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सहमतिअनुसार मुख्यमन्त्री नियुक्त गरिएका हुन् ।

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, हाम्रो नेपाल पार्टीका ७० सांसदको हस्ताक्षरसहित माओवादीका जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका २ गरी ७० प्रदेशसभा सदस्यले शालिकरामलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुख शर्मालाई दाबी पत्र बुझाएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा शालिकराम मुख्यमन्त्री बनेका हुन् । उनी धादिङ निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित भएका थिए ।

गण्डकीमा अधिकारी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अधिकारी कास्की निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित भएका थिए ।

प्रदेश १ मा एमालेका कार्की

सोमबारै प्रदेश १ को मुख्य मन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीको नेतृत्वमा प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । सत्ता साझेदार दलहरुमध्ये माओवादी केन्द्रको भने सहभागिता छैन ।

आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने अडानका रहेका प्रदेश १ का माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *