इलामको सुकिलुम्बा विमानस्थलबाट अब साप्ताहिक उडान हुने

इलाम । निर्माण सम्पन्न भएर पनि नियमित सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट अब साप्ताहिक रुपमा उडान हुने भएको छ ।

नेपाल एयरलाइन्सले विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो ।

यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाम नगर प्रमुख केदार थापाका अनुसार माघ १ गतेदेखि नै नियमित उडानका लागि पहल भइरहेको छ ।

यसअघि तारा एयरले उडान भरेको थियो । नगरपालिकासँग भएको सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो ।

ताराले उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन । भरसक सस्तो मूल्यमा नै उडान गराउन पहल गरिने इलाम नगरपालिकाले जानकारी दिएको छ ।

यसका लागि उचित मूल्य निर्धारण गर्न नेपाल वायुसेवा निगमसमेत लाग्नेमा आफूहरु विश्वस्त रहेको नगर प्रमुख थापाको भनाइ छ ।

काठमाडौँबाट करिब एक घण्टाको उडान अवधिमा इलाम उडान गर्न सकिने यसअघि नै तारा एयरले बताएको थियो ।

विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । धावन मार्गसमेत पक्की भइसकेको छ ।

विमानस्थलको घेराबारा र टर्मिनल भवन निर्माणका लागि रकम विनियोजन भइसकेको जनाइएको छ ।

विमानस्थल सञ्चालन हुनसके इलाम मात्र नभएर पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने छन् ।

यसैगरी सीमावर्ती भारतका विभिन्न क्षेत्रबाट समेत काठमाडौँ उडानका लागि यात्रु आउन सक्ने छन् ।

हाल इलाम र आसपास क्षेत्रका बासिन्दाले काठमाडौं र अन्यत्र गन्तव्यका लागि झापाको भद्रपुरबाट हवाई यात्रा गर्नुपर्ने अवस्था छ ।

कतिपय विराटनगरसम्म पुगेर पनि हवाई यात्राबाट काठमाडौंको जाने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *