शिक्षिकाले दिएको स्पिरिट पानी ठानेर पिउँदा विद्यार्थीको मृत्यु

सिरहा । शिक्षिकाको लापरबाहीले विद्यार्थीको मृत्यु भएपछि सिरहामा तनाव सिर्जना भएको छ। विद्यार्थीको मृत्युपछि विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शन तीव्र बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ । प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरेको हो ।

यस्तै १० राउण्ड अश्रुग्यास प्रयोग गर्नुपरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

मिर्चैया नगरपालिका ६ मा रहेको सगरमाथा स्कुलको कक्षा ८ मा अध्ययनरत सिर्जनाकुमारी महराको स्प्रिट सेवनबाट मृत्यु भएको हो ।

शुक्रबार औषधि खानका लागि उनले पानी मागेपछि शिक्षिका अम्बिका लम्सालले चिसो पेयको बोतलमा राखिएको स्पिरिट दिएकी थिइन्।

प्रहरीले शिक्षिका लम्साललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पानी ठानेर स्पिरिट पिएपछि सिर्जना बेहोस भएकी थिइन्। उपचारको लागि उनलाई कर्जन्हाको फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिक्षिकाको लापर्बाहीले विद्यार्थीको मृत्यु भएको भन्दै आइतबार विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् ।

उनीहरुले पूर्वपश्चिम राजमार्गको मिर्चैया खण्ड बन्द गराएका छन् । विद्यार्थी र स्थानीयले ढुंगा मुढा गरेपछि प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *