सरकारले अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’ सुविधा दिने

काठमाडौं । सरकारले अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’ बापतको सुविधा दिने भएको छ । यसका लागि प्रक्रिया अघि बढाइएको छ ।
२०७३ असार १५ सम्म अस्थायी शिक्षकका रुपमा काम गरेर सुविधा लिन छुटेकाहरुलाई शिक्षक किताब खानाले सुविधा दिन लागेको हो ।
२०७४ सालमा लिएको अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धाबाट असफल भएका र प्रतिस्पर्धामै भाग नलिएका शिक्षकलाई सरकारले ‘गोल्डेन ह्यान्डसेक’ बापतको सुविधा उपलब्ध गराएको थियो ।
प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १० हजार ३ सय ३० शिक्षकलाई ७ अर्व ४४ करोड रुपैयाँ बराबरको विशेष सेवा सुविधा उपलब्ध गराइएको थियो ।
विभिन्न कारणले सुविधा लिन छुटेका अस्थायी शिक्षकलाई सेवा सुविधा दिन प्रक्रिया अघि थालेको हो ।
देशभरिमा करिब ५ सय भन्दा अस्थायी शिक्षकहरू त्यस्तो सुविधाबाट वञ्चित रहेको तथ्यांक छ । तीमध्ये ९० प्रतिशत मधेस प्रदेशका रहेको जनाइएको छ ।
२०७३ असार सम्म ५ देखि १० वर्ष काम गरेका शिक्षकलाई वर्षको आधा महिना, १० देखि १५ वर्ष सेवा गरेकालाई १ महिना र १५ देखि २० वर्ष काम गरेकालाई डेढ महिनाको हिसाबले सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।
अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’ बापतको सुविधा उपलब्ध गराउन सरकारले करिब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।