पोखरा फार वेस्टसँग पराजित, काठमाडौं प्लेअफमा

काठमाडौं । फार वेस्ट युनाइटेडसँग पराजित भएपछि पोखरा एभेन्जर्स नेपाल टी-२० लिगबाट बाहिरिएको छ । प्रतियोगिताबाट पोखरा बाहिरिएसँगै काठमाडौं नाइट्स भने प्लेअफमा पुग्ने चौथो टिम बनेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फार वेस्टले पोखरालाई ४१ रनले पराजित गरेको हो । पोखराको हारले अंक तालिकाको चौथो स्थानमा रहेको काठमाडौंले प्लेअफमा पुग्ने अवसर पाएको हो । आजै भएको पहिलो खेलमा काठमाडौं विराटनगर सुपर किंग्ससँग ७ विकेटले पराजित भएको थियो । यो हारपछि प्लेअफमा पुग्न काठमाडौंले फार वेस्ट र पोखराबीचको खेलका नतिजा कुर्नु परेको हो । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको फार वेस्टले भने प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखरा १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ४६ रनमा समेटियो ।

पोखराका लागि कप्तान उपुल थरंगाले २३ बलमा ३६ रन बनाउँदा प्रतिश जिशीले ११ बलमा ५ छक्काको सहयोगमा ३४ रन बनाए । सिद्धान्त लोहनीले २८, सुमित महर्जनले १४ तथा विशाल विक्रम केसीले १३ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकको रन बनाउन सकेनन् ।

फार वेस्टका लागि दुर्गेश गुप्ता र कप्तान हशमतुल्लाह शाहिदीले समान २/२ तथा करण केसी र प्रकाश जैशीले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । ओपनरद्वय कप्तान हश्मतउल्लाह शाहिदी र विनोद भण्डारीले १ सय ३४ रनको शतकीय साझेदारी गरे । शाहिदीले ५१ बलमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । यस्तै, भण्डारीले ४७ बलमा अर्धशतकीय ५९ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । यो प्रतियोगितामा उनीहरुको यो दोस्रो शतकीय साझेदारी हो ।

यसैगरी राशिद खानले ४ बलमा १४ रन बनाउँदा करण केसी ११ रनमा अविजित रहे । पोखराका लागि अभिमन्यु मिथुनले २ तथा प्रतिश जिशीले १ विकेट ढाले ।

लुम्बिनी अल स्टार, जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सले भने यस अघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।

लुम्बिनी १६ अंकको साथ शीर्षस्थानमा छ भने जनकपुर १४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, विराटनगर १० जोडेर तेस्रो स्थानमा छ । काठमाडौंको ८ अंक छ ।

पहिलो क्वालिफायर्स खेलमा भोलि आइतबार शीर्ष स्थानको लुम्बिनी अलस्टार र जनकपुर रोयल्स खेल्नेछन् । जित्ने टिम सिँधै फाइनल पुग्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमेनेटर खेल हुनेछ । एलिमेनेटर विजेता र पहिलो क्वालिफायर्सको पराजित टिम फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्समा भिड्नेछन् ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छन् । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *