दुई बैंक मर्जर अवसरमा देशव्यापी प्रभातफेरी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले शनिबार संयुक्त रुपमा देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्त रुपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्य शहरहरुमा प्रभातफेरी आयोजना गरेका हुन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् ।

प्रभातफेरीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरुलगायत दुई बैंकका १ हजारभन्दा बढी कर्मचारीको सहभागिता थियो ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीहरुले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्य भागको परिक्रमा गरेका थिए । काठमाडौँबाहिर पनि मुख्यशहरमा यस्तै कार्यक्रम आयोजना गरिएको थियो ।

मर्जरपछि बैंकको कूल पुँजी ५७ अर्ब, चुक्तापूँजी ३५.७७ अर्ब, कूलनिक्षेप ४०० अर्बभन्दा बढी र कूलकर्जा ३७९ अर्ब भन्दा बढी पुग्ने जनाइएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कूलपंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने जनाइएको छ ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुने छन् ।

दुई बैंकहरुको मर्जरपछि कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुने दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *