जीवनभन्दा महङ्गो मृत्यु !

एउटा मान्छेको जिन्दगी
बाँच्न निकै महङ्गो छ यहाँ
तर त्योभन्दा कैयन गुणा महङ्गो त
मर्नलाई रहेछ
सायद पुरै जिन्दगी बाँचेको धनले
या बाँचेर कमाएको सम्पत्तिले
सितिमिति मर्न पनि पुग्दो रहेनछ
पटक्कै पुग्दो रहेनछ !

एउटा सरदर जिन्दगी…
जसले एउटा सरदरको जीवन बाँचेको मात्रै छ
उसले त मृत्यु ‘अफोर्ड’ गर्नै सक्दैन
जसले बाँचेर पनि साँचेको छ
उसलाई पनि हम्मेहम्मे नै पर्ला
साँच्चै ! यहाँ मान्छे बाँच्नभन्दा
मर्न धेरै महङ्गो रहेछ
किनमेलका सामान जस्तै
सेवा या वस्तुका व्यापारजस्तै
पढाइ, दबाइ या बसाइजस्तै
मृत्यु अचेल अचाक्ली महङ्गिएको रहेछ !

जीवनको ‘ट्याबलेट’ भन्दा
मृत्युको ‘भेन्टिलेटर’ महङ्गो रहेछ
डाक्टरको ‘सेवा’ भन्दा
मृत्युको ‘पूर्जा’ महङ्गो रहेछ
हो, जीवन त निकै ‘सस्तो’ पो रहेछ
मृत्युभन्दा धेरै सस्तो !


प्रतिक्रिया

One thought on “जीवनभन्दा महङ्गो मृत्यु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *