देश, विदेशका आध्यात्मिक गुरु र श्रद्धालु लुम्बिनीमा भेला हुने

काठमाडौं । लुम्बिनीमा नेपाल, भारत र अन्य विभिन्न मुलुकका आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरुको जमघट हुने भएको छ । आगामी माघको अन्तिम साता आयोजना हुने विशेष कार्यक्रमका क्रममा यस्तो जमघट हुने भएको हो ।

माघ २१ देखि २९ गतेसम्म हुने कार्यक्रममा भारतका आध्यात्मिक गुरु मुरारी बापुले ‘रामकथा प्रवचन’ दिने जनाइएको छ । कार्यक्रम लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा हलमा हुने छ ।

त्यस अवसरमा अन्य धार्मिक अनुष्ठानका साथै आध्यात्मिक पक्षका गतिविधिहरु पनि सञ्चालन हुने भएको छ ।

कार्यक्रममा स्वदेशी तथा विदेशी गरी दुई हजारभन्दा बढी श्रद्धालु भेला हुने आयोजकको भनाइ छ ।

यसअघि सन् २०१९ मा भारतका आध्यात्मिक गुरु मुरारी बापुसहितको सहभागितामा लुम्बिनीमा कार्यक्रम आयोजनाको तयारी गरिएको थियो । कोरोना महामारीका कारण उक्त कार्यक्रम स्थगित भएको थियो ।

रामकथा प्रेम यज्ञ समितिका संयोजक अनिल मिश्रका अनुसार कोरोना महामारीपछि धेरै सहभागितामा यस्तो कार्यक्रम हुन लागेको पहिलो पटक हो ।

कार्यक्रमलाई भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट प्रत्यक्ष प्रशारण गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *