लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते हुने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको मुद्दामा अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न शुक्रबार आदेश दिएको हो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश जारी नगर्ने आदेश दिएको हो ।
रिट निवेदक रविराज बसौलाले रविलाई सांसदको सपथ ग्रहण नगराउन अन्तरिम आदेशको माग गरेका थिए । अदालतले अन्तरिम आदेश भने दिएको थिएन ।
पुस ६ गते भएको सुनुवाईमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरिएको थियो । विपक्षीका तर्फबाट लिखित जवाफ पेस भइसकेको छ ।
अमेरिका बसेर फर्केका लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै उनको सांसद पद खारेज हुनुपर्ने माग सहितको रिट गत मंसिर २८ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो ।