फार वेस्टलाई हराउँदै विराटनगर विजयी

काठमाडौं । नेपाल टी-२० लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाइटेडलाई ३ रनले पराजित गरेको छ । जितसँगै विराटनगरले प्लेअफ सम्भावना कायमै राखेको छ ।
काठमाडौंको टियु मैदानमा विराटनगरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको फार वेस्टले २० ओभरमा ९ विकेट १ सय ४४ रन बनायो ।
फार वेस्टका लागि कप्तान हशमतुल्लाह शाहिदीले ४६ बलमा ५८ रनको अर्धशतकीय इनिङ खेले । उमर अलि २३ रनमा आउट हुँदा विनोद भण्डारी र नुर अहमद समान १०-१० रनमा आउट भए ।
विराटनगरका लागि राज नानन ३ र सुर्य तामाङले २ विकेट लिए । कियोन जोसेफ र नन्दन यादवले समान १–१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायो ।
विराटनगरका लागि हुसेन तलतले २९ बलमा ५० रनको अर्धशतकीय इनिङ खेले । विवेककुमार यादवले २० बलमा अविजित ३५ रन बनाए । अर्जुन साउदले २२ रन बनाउँदा कप्तान रोहित पौडेलले २१ रन बनाए ।
फार वेस्टका लागि उमर अलिले २ तथा करण केसी र दुर्गेश गुप्ताले समान १-१ विकेट लिए ।
नौ खेलमा चार जित पाँच हार हात पारेको विराटनगरले आजको खेल जितेपश्चात प्लेअफको सम्भावना मजबुत बनाएको छ । विराटनगरले आठ खेलमा ६ अंक जोडेको छ ।
नौ खेलमा दुई जित हात पारेको फार वेस्ट लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । फार वेस्ट ४ अंकका साथ अंक तालिकाको पुछारमा छ ।
यही संस्करणको पहिलो भेटमा पनि फार वेस्टलाई विराटनगरले हराएको थियो ।