दक्षिण अफ्रिका हुँदै अमेरिका र युरोप पठाइदिने भन्दै ठगी बढेपछि सतर्कता

काठमाडौँ । विभिन्न मुलुक पठाइदिने भन्दै ठगीका घटना बढेपछि सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । पछिल्लो समय दक्षिण अफ्रिका हुँदै अमेरिका र युरोपका मुलुक पठाइदिने नाममा ठगीका घटना बढेपछि यस्तो आग्रह गरिएको हो ।

दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै दक्षिण अफ्रिका हुँदै युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रवृत्ति बढेको जनाएको छ ।

ठगी गर्नेहरु सक्रिय भएको भन्दै दूतावासले कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ । दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका जस्ता मुलुक सजिलै गरी पठाइदिने भनेर ठूलो रकम असुलने समूह सक्रिय भएको पाइएको छ ।

भारतका नयाँ दिल्ली, मुम्बई लगायतका सहरबाट यूएई, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी मौरिसस, रुवाण्डा, कंगो लगायतका अफ्रिकी मुलुकहरू हुँदै रोजगारी खोजीमा रहेकाहरुलाई अत्यन्त जोखिमपूर्ण तरिकाले दक्षिण अफ्रिका लैजाने गरिएको छ ।

त्यस्तो कार्य कसैले पनि नगर्न अनि नगराउन दूतावासले सबैमा अनुरोध समेत गरेको छ ।

दक्षिण अफ्रिकाले २ अगष्ट २०२२ देखि विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई ल्याउन पाउने व्यवस्था गरेको छ ।

यदि त्यस्ता पदहरूमा वैदेशिक रोजगारमा जान चाहेको खण्डमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिन दूतावासले अनुरोध गरेको छ ।

भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका जाने प्रयोजनका लागि मात्र भएकाले सो भिसाका आधारमा रोजगारीजन्य काममा संलग्न हुन नपाउने दूतावासले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *