श्रम स्वीकृति अब प्रदेशहरूबाटै

काठमाडौं । मुलुकका सातवटै प्रदेशबाट श्रम स्वीकृति लिने सुविधा सुरु हुने भएको छ । काठमाडौंबाट मात्र यो सुविधा लिन सकिने व्यवस्था रहेकामा अब प्रदेशहरुबाट पनि श्रम स्वीकृति लिन सकिने भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको हो ।

श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति पाइने व्यवस्था गरिएको हो ।

यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

यसअघि वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट श्रम स्वीकृति सेवा सुरु भइसकेको छ । श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ ।

मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी श्रम स्वीकृति लिनका लागि भौतिक रुपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यालाई हटाउँदै अनलाइनमार्फत नै सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको जनाउँदै श्रम कार्यालय विराटनगर र जनकपुरबाटसमेत सहज रुपमा सेवा लिन अनुरोध गरेको छ ।

कम्प्युटर प्रणालीबाट नै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको छ ।

त्यसैले श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन दिएर बिना झन्झट सेवा लिन मन्त्रालयद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख छ ।

अनलाइनमार्फत नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सफल भएकै कारण वैदेशिक रोजगार विभागले लिभिङ विथ आइसिटी नामक संस्थाबाट सर्वोत्कृष्ट पुरस्कारसमेत पाएको श्रम मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *