आजदेखि स्वस्थानी व्रत सुरू

काठमाडौं । आज शुक्रबारदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म जारी रहन्छ ।

अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गर्छन् । यस क्रममा स्वस्थानी कथा सुन्ने र सुनाउने चलन छ ।

स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा व्रत सुरु भएको धार्मिक मान्यता छ ।

स्वस्थानी व्रत सुरु भएको दिन पनौतीको सालीनदीमा मेलासमेत लाग्छ । सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने विश्वास छ ।

सुस्वास्थ्य, शान्ति र शिवजस्तो स्वामी र पुत्रलाभको कामना गर्दै शालीनदीमा महिलाहरु व्रत बस्ने परम्परा पुरानो हो ।

पहिले पहिले नेवार समुदायका महिलामा मात्र प्रचलन रहेको यो व्रत अचेल विभिन्न समुदायका महिला र पुरुषसमेतले व्रत लिने गरेका छन् ।

व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्नमा श्रीमहादेवको पूजा आराधना र अघ्र्य दिने चलन छ । बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने चलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *