उच्च शिक्षासँगै रोजगारी गर्न विदेश जानेको लर्को

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपालीहरुको संख्या बढ्दो देखिएको छ । गुणस्तरीय शिक्षा पाइने साथै रोजगारीको अवसर पनि प्रशस्त हुने भएकाले विदेश जानेको संख्या निरन्तर बढिरहेको हो ।

गुणस्तरीय शिक्षा हासिल गर्ने उद्देश्यले विदेश जानेहरु पढाइसँगै रोजगारी पनि गर्न पाइने भएकाले विभिन्न मुलुकमा गइरहेका छन् ।

अष्ट्रेलिया, क्यानाडा, अमेरिका, जापान, बेलायतलगायत मुलुक नेपाली विद्यार्थीको आकर्षण बनेका छन् ।

नेपालबाट १ सय ९ वटा देशमा अध्ययनका लागि विद्यार्थी जाने गरेको तथ्यांक छ ।

एक वर्षको अवधिमा विदेश जाने विद्यार्थीको संख्या एक लाख २१ हजार ४०० छ । यो सन् २०२२ भरि विदेश जानेको तथ्यांक हो ।

२०२२ मा अनुमतिपत्र लिनेमा अस्ट्रेलियाका लागि सबभन्दा बढी छन् । अस्ट्रेलिया जान ६६ हजार ८ सय जनाले अनुमतिपत्र लिएका छन् ।

यसैगरी जापानका लागि१६ हजार २ सय, क्यानाडाका लागि ११ हजार, बेलायतका लागि ७ हजार ६ सय, अमेरिका जानका लागि ५ हजार १ सय विद्यार्थीले अनुमतिपत्र लिएको मन्त्रालयले जनाएको छ ।

उल्लेखित संख्यामा विद्यार्थीले विदेश जान शिक्षा मन्त्रालयबाट अनुमति लिएका छन् ।

स्वदेशमा राम्रो शिक्षा र अवसर नपाइने भएकाले झापाकी रिचा घिमिरे उच्च शिक्षा अध्ययनका लागि क्यानाडा जाने तयारीमा छिन् । व्यवस्थापन विषयमा स्नातकोत्तर विषय उनले अध्ययन गर्ने तयारी गरेकी हुन् ।

विदेशका शैक्षिक संस्थाहरुमा नयाँ भर्नाको समय भएको छ । त्यही कारण वैदेशिक अध्ययन अनुमतिपत्र लिने विद्यार्थीको संख्या यतिबेला बढेको छ ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा आवश्यक प्रक्रिया पूरा गर्न दैनिक सयौं विद्यार्थी पुग्ने गरेका छन् ।

उक्त शाखाले दैनिक ६ सयभन्दा बढी विद्यार्थीलाई अनुमतिपत्र दिँदै आएको जनाएको छ ।

उच्च शिक्षा अध्ययनकै लागि साउनदेखि कात्तिकसम्मको ४ महिनामा २२ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षमा ६७ अर्बभन्दा बढी विदेशिएको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *