नेपाल टी-२० लिगः विराटनगर र लुम्बिनी विजयी

काठमाडौं । नेपाल टी–२० लिगअन्तर्गत बुधबार भएका खेलमा विराटनगर र लुम्बिनी विजयी बनेका छन् ।

विराटनगर सुपर किंग्सले फार वेस्ट युनाइटेडलाई ६ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित टियु मैदानमा फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

विराटनगरका लागि रोहित पौडेलले ४२ बलमा ६० रनको अर्धशतकीय इनिङ खेले । प्रदिप ऐरी ४० रनमा आउट हुँदा हुसेन तलतले १७ रन बनाए । पृथु बास्कोटा १७ रनमा अविजित रहँदा गौरान्शु शर्माले ११ रन बनाए ।

फार वेस्टका लागि नुर अहमद, प्रकाश जैशी, करण केसी र हसमतुल्लाह साहिदीले समान १–१ विकेट लिए । त्यसअघि ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

फार वेस्टका लागि विनोद भण्डारी ३८ बलमा ४५ रनमा आउट हुँदा कप्तान हसमतुल्लाह शाहिदीले २४ बलमा २७ रन बनाए । करन केसीले अविजित २१ रन बनाउँदा उमर अलिले १६ रन बनाए ।

विराटनगरका लागि साहब आलमले ३ तथा कियोन जोसेफले २ विकेट लिए । राज नानन, विवेक यादव र कप्तान रोहितकुमार पौडेलले समान १–१ विकेट आफ्नो नाममा गरे ।

आठ खेलमा तीन जित पाँच हार सहित विराटनगर ६ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। सात खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा छ । हारसँगै फार वेस्टको प्लेअफ सम्भावना कमजोर बनेको छ ।

काठमाडौंविरुद्ध लुम्बिनीको जित

अर्को खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौं नाइट्सविरुद्ध १०२ रनको फराकिलो जित हात पारेको छ । योसँगै लुम्बिनीले क्‍वालिफायर्समा स्थान पक्का गरेको छ ।

लुम्बिनीले टस जितेर पहिले ब्याटिङ गरेको थियो । टिम काठमाडौं समयमै मैदान नआइपुग्दा खेल १७ ओभरको मात्र खेलाइएको थियो ।

निर्धारित ओभरमा लुम्बिनीले ६ विकेट गुमाउँदै १८३ रनको योगफल बनायो । पहिलो विकेटका लागि ओपनर हरमित सिंह र लाहिरु मिलान्थाले ९८ रनको साझेदारी गर्दै टिमलाई विशाल योगफलतर्फ डोर्याए ।

हरमितले ३६ बलमा २ चौका र ८ छक्कासहित ७० रन जोडे । लाहिरु २६ रनमा आउट भए । गुलसन झा २१, कुशल भुर्तेल १५ र ह्यारी टेक्टर १७ रनमा आउट हुँदा अनिल साह १६ रनमा अविजित रहे । अभिनाश बोहोराले ३ र वसिर अहमदले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काठमाडौं १५ ओभर ४ बल खेल्दा ८१ रनमा अलआउट भयो । उसका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर बनाउन सके ।

वसिर अहमदले सर्वाधिक २२ रन बनाउँदा, कमलसिंह ऐरीले १६ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बल १५–१५ रनमा आउट भए । काठमाडौंलाई सस्तैमा समेट्न ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई–दुई विकेट लिए ।

प्रतियोगितामा लुम्बिनीको यो आठौं जित हो । १६ अंकसहित लुम्बिनीले एक खेल बाँकी रहँदै शीर्ष स्थान पक्का गरेको छ ।

अन्तिम खेलमा जनकपुर रोयल्ससँग पराजित भए पनि लुम्बिनी शीर्ष स्थानमा रहँदै क्‍वालिफायर्स खेल्न छनोट हुनेछ । तेस्रो स्थानको काठमाडौंको भने ८ खेलमा ८ अंक छ । बाँकी दुई खेलको नतिजाले काठमाडौंको स्थान तय हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *