सत्ता साझेदारबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा अलमल

काठमाडौं । सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेर मात्र मन्त्रिमण्डललाई पूर्णता दिने निर्णय गरेको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा मिल्न नसक्दा मन्त्रालय विस्तार हुन सकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले न्यूनतम साझा कार्यक्रमपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो ।
मन्त्रिमण्डललाई पूर्णत दिने तर मन्त्रालयहरु भने नटुक्रयाउन नेताहरु सहमत भएका छन् । बैठकमा मन्त्रिपरिषद् विस्तारलगत्तै राष्ट्रपति, उपराष्ट्रपतिलगायत सातै प्रदेशका प्रमुख, मुख्यमन्त्री र सरकारको विषयमा सहमति गरेर अघि बढ्नेबारे छलफल भएको जनाइएको छ ।
बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदललाई बिहीबारसम्मको समय दिएको छ ।
पुस १० गते पुष्पकमल दाहाल नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।
गठबन्धनमा आबद्ध दलहरुबीच कुरा नमिल्दा चार मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । त्यही कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।