नियमविपरीत सञ्चालित देशभरका क्रसर उद्योग बन्द गर्न सरकारको निर्देशन

काठमाडौं । नियमविपरीत सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न सरकारले निर्देशन दिएको छ । दर्ता नभएका र नवीकरण समेत नगरिएका देशभरका क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई बुधबार निर्देशन दिएको हो ।

गृह मन्त्रालयले कानुनविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार कानुन नियमन गर्ने पहलस्वरुप सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हो ।

कानुनविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले उक्त परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

परिपत्रमा विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा सोही आयोजनाका लागि आवश्यक परिमाणमा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योगीरनिर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात् पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सोसमेत छानबिन गरी तत्काल बन्द गर्न भनिएको छ।

अब स्थानीय प्रशासनमार्फत् अनुगमन हुने र त्यहाँ अनुमति नलिएका, दर्ता नभएका, नवीकरण नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन कार्य गरिरहेका उद्योग फेला परेमा बन्द गरिने प्रवक्ता पोखरेलको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *